कहिलेकाहीँ मनमा के भइरहेको छ भनेर ठ्याक्कै भन्न गाह्रो हुन्छ। यो चक्रले तपाईंको भावनालाई सही नाम दिन मद्दत गर्छ। भावनालाई नाम दिन सके त्यसलाई बुझ्न र सम्हाल्न सजिलो हुन्छ।
भावनालाई नाम दिँदा किन मद्दत हुन्छ?
मन दुखेको बेला हामीलाई प्रायः नराम्रो लागिरहेको छ भन्ने मात्र थाहा हुन्छ। चोट लागेको, लाज लागेको, एक्लो वा झर्को लागेको जस्ता ठ्याक्कै शब्द भेटिए भने भावना बुझ्न र अरूलाई भन्न सजिलो हुन्छ। भावनालाई शब्दमा राख्दा त्यसको तीव्रता घट्न सक्छ भन्ने कुरा दिमागका अध्ययनमा देखिएको छ (Lieberman and colleagues, Psychological Science, 2007)।
चक्र कसरी प्रयोग गर्ने?
बीचबाट सुरु गर्नुहोस्, जस्तै उदास, रिस वा डर। त्यसपछि बाहिरतिर अझ ठ्याक्कै शब्दतिर जानुहोस्, र तपाईंलाई सबैभन्दा मिल्ने शब्दमा रोकिनुहोस्। Computer मा चक्रलाई तानेर घुमाउन सकिन्छ। फोनमा चक्र वा list मा शब्द थिच्नुहोस्।
चक्र नेपाली, अंग्रेजी, हिन्दी र गुजरातीमा छ, त्यसैले जुन भाषामा भावना आउँछ त्यही भाषामा शब्द खोज्न सकिन्छ।
Therapist सँग प्रयोग
TEAM-CBT session मा हामी प्रायः भावनालाई नाम दिएर र त्यो कति बलियो छ भनेर नापेर सुरु गर्छौं। Session अघि चक्र प्रयोग गर्नुभयो भने छानेका शब्द टिपेर ल्याउनुहोस्। कुरा सुरु गर्न यो राम्रो ठाउँ हो।
मन धेरै भारी भइरहेको छ भने एक्लै नसहनुहोस्। परामर्शको समय लिनुहोस्, वा तुरुन्त सहयोग चाहिएमा 1166 मा फोन गर्नुहोस्।